विद्यालय सेवा क्षेत्रको बस्ती स्तरमा सिकाइ अभियान

21149923_1811630228850705_145864561272448625_n

केही वर्ष अगाडी मनमा उकुसमुकुस भएर खेलिरहेको एउटा विषय थियो ः विद्यालय समय भन्दा अघिपछि घर परिवारमा आफैं पढ्ने वातावरण बनाउन सकियो भने बच्चाहरुमा पढ्ने आदत निर्माण हुन्थ्यो कि, तर कसरी ? घरमा अभिभावकलाई यतिबेला यसरी पढ्नुपर्छ भन्ने थाहा नभए पनि आफ्ना बच्चाहरुले राम्रो पढुन् भन्ने चाहना हुन्छ । तर चाहना मात्र भएर हुँदैन परिस्थिति भने फरक हुन्छ । केटाकेटी उमेरमा मान्छे चञ्चल हुन्छन् । जता रमाइलो, उनीहरु उतै हुर्रिन्छन् । उनीहरुले किताब पढ्ने र स्कुलमा सर मिसले दिएको लेख्नु पढुनु भनेको जबरजस्त लादिएको बोझ ठानेका हुन्छन् । अहिले वयस्क भइसकेकालाई पनि उबेलाको अवस्था उस्तै हो । एकाध बच्चाहरु भने फरक प्रवृत्तिका नहुने गरेका होइनन् । तर तिनको संख्या ज्यादै न्यून छ, जो पढाइलेखाई र सिकाइलाई रहरको रुपमा स्वीकार गर्छन् । मलाई लाग्थ्यो बस्ती स्तरमै विद्यार्थीलाई आफैं पढ्ने वातावरण तयार गर्न कसरी सकिएला जबकि यसले विद्यार्थीलाई अनावश्यक कामकुरा तर्फ लाग्नबाट रोकोस् र पढाइलाई नै आफ्नो मूल धन्दा ठान्ने सोच विकास होस् ।
विद्यालयमा पढाउन थालेको लगभग १३ वर्ष भयो । तत्कालिन समयमा एउटा प्रस्तावित नि.मा.वि., क्रमशः मा.वि हुँदै थियो । विषयगत शिक्षकको अभावमा जुन विषय आइलाग्यो पढाउनै पथ्र्यो । जे जसरी हुन्छ पढाइयो पनि । नि.मा.वि. तहका अंग्रेजी र गणित विषय बाहेक सायद एक वर्ष नपढाएको विषय कुनै छैन होला, कक्षा ९, १० को पनि सामाजिक, अर्थशास्त्र, कम्प्युटर जस्ता विषय कम्तिमा एक दुई वर्ष पढाइएकै छ । सधैं भोगेको समस्या केटाकेटीलाई “यति लेखेर ल्याऊ भोली पालैपालो प्रेजेन्टेशन गर्नुपर्छ , यति पढेर आऊ अनि जानेको भोली बताउनु पर्छ ।” भोलीपल्ट भने कक्षामा होमवर्क सोध्दा उत्तर आउने गर्छन् ः “सर आएन, सर बिर्सेछ”, यस्तै, यस्तै ….. । अनि लाग्थ्यो मैले केटाकेटीलाई रत्याउन सकिनँ, मैले शिक्षणको उपयुक्त बिधि अँगाल्न सकिनँ । बालमैत्री व्यवहार कक्षामा अपनाउनु पर्छ भनेर धेरै सुनेको, तालिममा पनि धेरै सिकेको । मेरो आत्माले पनि ति बच्चालाई आँखा रसाउने गरी पिट्दा र थर्काउँदा पछि एकान्तमा पश्चाताप बोध हुन्थ्यो । कहिल्यै कडा बन्न सकिएन । त्यसैले लाग्छ, बच्चाहरुमा पढाइप्रति क्रियाशिल बन्न कि त परिस्थिति सिर्जना गर्नुपर्छ, कि त रहर नै जगाउनु पर्छ । आफुले त्यो दुवै नसकेको आत्मानुभुति हुन्थ्यो र अहिले पनि त्यहि लाग्छ ।
विद्यालयमा पढाउने विषयगत जिम्मेवारीको अलावा अहिले सम्म भण्डै आठ वर्ष सहायक प्र.अ. को रुपमा हेडसरको सहयोगी भएर काम गर्दा मनमा धेरै योजनाहरु खेल्थ्यो । बेलुकी खाना खाएर सुतिसकेपछि पनि निदाउनुपुर्व धेरै सपनाहरु देखिन्थ्यो । ति सपनालाई यसो कागजमा लेख्दै र मनमा सुरक्षित गर्दै हेडसरसँग राख्दा “ठिक हो” भन्दा कता कता मन उमंग हुन्थ्यो र उत्साहले जीऊ फुले झैं लाग्थ्यो । अनि स्टाफ बैठकमा हेडसरसँगै कतिपय कुरामा तर्क राख्दा सबैले मौन भएर समर्थन गरेको देख्दा फेरी अरु उत्साह भरिन्थे । तैपनि विद्यार्थीलाई जागरुक बनाउने उपायबारे मनमा कौतुहलता कायमै रह्यो, व्यक्त र अव्यक्त रुपमा । विद्यालयमा विभिन्न प्रतिवेदन र कार्ययोजनाका मस्यौदा तयार गर्ने काममा आफ्नो हात अलि बढी चल्थे । लेखेका, प्रस्तुत गरेका विषय वा सवालहरुमा बेलाबेलामा तारिफ पनि हुन्थ्यो कतिपयबाट । कतिबाट प्रतिक्रियाबिहिन मौनता पनि । जे होस्, आफ्ना सोचहरु व्यक्त गर्नु, प्रयास गर्नु, आग्रह गर्नु, प्रस्ताव गर्नुलाई एउटा आत्मसन्तुष्टिको विषयका रुपमा लिन मन लाग्थ्यो र लाग्छ । कार्यान्वयन गर्ने नेतृत्वमा अर्को व्यक्ति हुँदा लाग्थ्योः “चासो दिएनन् ।” परिस्थितिहरु म बुझदैनथें । अहिले आफु नै कार्यान्वयनको तहमा हुँदा पनि लाग्छ ः “सबै इच्छाएको कुरा पुरा गर्नका निम्ति परिस्थिति दाहिना हुन्नन् ।” तर पनि निरन्तर प्रयत्नले सम्भावना नजिक पुर्याउँछ र सफल पनि बनाउँछ ।
विद्यालयमा कार्यारम्भ हुँदाबखत नै विषयगत शिक्षणको अलावा ममा भएको केही व्यवहारिक सीप आफ्नो लागि सम्पत्ति झैं लाग्थ्यो । विद्यालयमा आवश्यक कागजात तयार गर्ने काममा आफ्नै सक्रियता बढी हुन्थ्यो । कामको बोझ बढी भएपनि कामलाई अवसरका रुपमा लिने बानीले होला छुट्टै आनन्द लाग्थ्यो । त्यसपूर्व गाउँमै बनाएको एउटा क्लब, त्यस मार्फत विभिन्न कार्यक्रम आयोजना गर्ने, बैठक सञ्चालन गर्ने, विभिन्न कार्यक्रममा सहभागी हुने, संघसंस्था वा निकायमा सम्पर्क राख्ने जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गर्दा धेरै व्यवहारिक सीपहरु आर्जन गरिए । जुन देखेर, गरेर अनि सहभागी भएर सिकेका । लाग्छ, अहिलेका बालबालिकालाई पनि समूदायमा संगठित हुने सिर्जनात्मक कार्यमा आकर्षण गर्न सक्यौं भने उनीहरुले पनि यस्तै व्यवहारिक क्षमता विकास हुन सक्छ । समुदायलाई पनि सशक्तिकरण र सचेतनायुक्त एवं बिकृति र बिसंगति बिरुद्ध जागरुक बनाउन सकिन्छ । सिर्जनात्मक कार्यले सिकाइको दायरा पनि फराकिलो बनाउँछ र भोली परिवर्तनका संवाहक बन्न सक्छन् ति बालबालिका ।
एकदिन सायद भदौ महिना हुनसक्छ । टिच फर नेपालबाट एकजना स्वयंसेवक शिक्षक रतन देवकोटा विद्यालयमा आइपुग्नुभयो । चिनजान भयो । ललितपूरको आफ्नो अनुभव बताउँदा मैले केही वर्ष अघिदेखि जे सोचेको थिएँ, त्यहि कुरा उहाँले गरेर देखाइदिनु भएछ । उहाँको कुरा सुनेपछि मैले दुई वर्ष अघि आफ्नो सिकाइ सुधार गर्ने उपायहरु समेटेर बनाएको एउटा रिपोर्टको पाना पल्टाएर देखाएँ पनि । हामीले सोचेर बस्ने हैन सोचसँगै काम गरिहाल्न सक्नुपर्छ । त्यसपछि कता कता हतारो महसुस भयो । भोलीपल्टै शि.अ.संघ.का अध्यक्षसँग कुरा गरियो, उहाँले सकारात्मक आशय दिनुभयो । झन् उत्साह बढ्यो । पहिला कहाँ सुरु गर्ने भन्ने लाग्यो । बाक्लो बस्ती, एकै प्रकारका जीवनशैली भएका समूदाय छाप गाउँ, मनले उपयुक्त ठान्यो । “सुरु गरेर हेरौं, राम्रो भए निरन्तरता दिउँला नसके जे होला, थो दबाब होइन रहर त हो । असहज भए बरुँ पछि छोडुँला,” यस्तै सोच आयो । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको सूमहलाई ऋषिपञ्चमीको दिन टोल बस्तीका अभिभावकलाई भेला गर्न खबर गरियो । उक्त दिन बिहान एक्लै गाउँ जान तयार भइयो । बिदाको दिन भएकाले अरु शिक्षक साथीहरुलाई जाउँ भन्न पनि कस्तो कस्तो अप्ठेरो लाग्यो । मनले जितेरै टेक बहादर कार्की (फेलो टिच फर नेपाल) सरलाई फोन गरेँ । उहाँ अत्यन्त उत्साहित हुनुभयो । तत्कालै स्कुलमा आइपुग्नु भयो । दुवैजना बस्ती स्तरमा सिकाइ अवधारणाबारे छलफल गर्दै गयौं, छाप गाउँ पुगियो । सोचेजस्तो अभिभावकमा चासो पाइएन । बुबाहरु भन्दा आमाहरुमा ज्यादा चासो भएको पाइयो आफ्ना छोराछोरीको । करिब ३० जना आमाहरुको बीचमा छलफल गरियो । सबैले उत्साह दिए । सकारात्मक बने । वि.व्य.स. सदस्य निर्मला तामाङले एउटा मनोकांक्षा व्यक्त गर्नुभयो ः “गाउँका सबै केटाकेटीले राम्रो पढिदिए गाउँ कति परिवर्तन हुन्थ्यो । आफ्नो पालामा पढ्न पाइएन । बिहान बेलुका अन्य काममा बरालिनुको सट्टा सबैले पढ्ने बाताबरण बनागन पाए त म जे सहयोग गर्न परे पनि गर्थें । बरु मेरो घरमा यस्ते पढ्ने ठाऊँ बनाऔं, म व्यवस्था मिलाउछु ।” उहाँको त्यो भनाइले एउटा सकारात्मक उत्प्रेरणा बढायो । भेलाबाट हामीले विद्यार्थीहरुकै एउटा समिति बनायौं ९ र १० कक्षामा पढ्ने एक एक जनालाई संयोजक र उपसंयोजक हुने गरी ।
बिहान वा बेलुकी कम्तिमा २ घण्टा स्कुलमा दिएको होमवर्क गर्ने, अघिल्लो दिन पढाएको पढ्ने र भोली पढाउने पाठ पढ्ने, तालिका बनाएर सो तालिका अनुसार अरु सिर्जनात्मक क्रियाकलापहरु गर्ने, आफ्नै खालका नीति नियम बनाउने, टीमलिडर चयन गरी उसकै नेतृत्वमा सबै परिचालित हुने लगायतका विषयमा सल्लाह दिइयो । विद्यार्थीहरु उत्साहित थिए । पक्कै पनि केही सकारात्मक प्रभाव पर्ला भन्ने आशा जाग्यो, हामी उत्साहित हुँदै फर्कियौं ।


विद्यार्थीमा आफ्नै खालका नियम तर्जुमा गर्ने नियमित सञ्चालन को लागि आवश्यक समन्वय गर्न आवश्यकता थियो । आस्था खत्री (फेलो, टिच फर नेपाल) ले आवश्यक समन्वय गर्न उत्साहित हुनुहुन्थ्यो । उहाँ नियमित बेलुका सहजीकरणका लागि जान थाल्नुभयो । विद्यार्थीलाई सिकाइको नयाँ वातावरण सिर्जना गर्न उहाँ निरन्तर प्रयासरत हुनुहुन्छ । झण्डै ७० जना भन्दा बढी केटाकेटीहरु जम्मा भएकोले बिहान र बेलुका गरी दुई समयका लागि समूह विभाजन गरिएको छ । प्राथमिक तहका बिहान र माथिल्लो तहका बेलुकी । ठाउँ व्यवस्थापन लगायतका कामहरु सामुहिक रुपमा विद्यार्थी आफैं मिलेर गरेका छन् । एकै ठाउँमा जम्मा भएर आपसमा छलफल गर्दै सिक्ने सिकाउने, स्कुलमा दिएको गृहकार्य गर्ने गराउने गर्दै केटाकेटीहरु पढाइमा रमाउन थालेका देखिन्छन् । नियमित होमवर्क गरेर आउने गरेको प्रत्यक्ष प्रभाव पनि विद्यालयमा देखिन थाल्यो । दशैंको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम पनि उनीहरु आफैंले सम्पन्न गरे । दीर्घकालिन रुपले सिकाइ केन्द्रलाई कसरी व्यवस्थान गर्ने भनेर उनीहरु आफैं योजना बनाइरहेका छन् । हप्ताभरीको लागि कार्यतालिका पनि बनाएका छन् । टीभी, मोबाइलमा अल्झिरहने र कतिपय अनावश्यक क्रियाकलाप छोडेर उनीहरु सिकाइ केन्द्रमा रमाउन थालेका छन् । स्कुल छाडेकालाई पनि पढ्ने रहर लाग्ने वातावरण केटाकेटीहरुले नै बनाइरहेका छन् ।
विद्यालयको सेवा क्षेत्र अन्तर्गत दुवाचौर, छापमा ’बस्ती बस्तीमा सिकाइ अभियान’ को विद्यार्थीहरुकै संयोजनमा र हाम्रो सहजीकरणमा दैनिक दुई घण्टा स्वअध्ययन गर्ने गरी सिकाइ केन्द्र सुरुवात भएको हो । यसको ठुलै प्रभाव त अहिले नै देखिने कुरा भएन तैपनि सकारात्मक लक्षण भने देखिएको छ । विदेशिएका यूवाहरुले पनि स्वागतयोग्य मानेका छन् । सहयोग गर्न लालायित छन् तर व्यवस्थापनका कतिपय काम बाँकी नै छन् । यसले सिकाइमा सकारात्मक प्रभाव पार्ला भन्ने अपेक्षा छ । आगामी दिनमा विद्यालयका अन्य सेवा क्षेत्रमा पनि बिस्तार गर्दै जाने उद्देश्य राखिएको छ ।
केटाकेटीहरु भविष्यमा कस्तो बन्छन् भन्ने कुरा उनीहरुको लागि कस्तो बातावरण सिर्जना गरिन्छ र कस्ता क्रियाकलापमा नजिक गराइन्छन््, त्यसमा भर पर्छ । समुदाय स्तरमा बालबालिकाको लागि सिकाइ वातावरण तयार गरी शैक्षिक गुणस्तरीयता कायम गर्ने र समाज परिवर्तन गर्ने एउटा अभियान हो ।
२०७४।०६।२३
कृष्णप्रसाद ढुंगाना, प्रधानाध्यापक

 

Leave us a Comment