विद्यार्थीका निबन्धहरु

२०७३ जेठ १४ गते विद्यालयमा सञ्चालित निबन्ध प्रतियोगितामा माध्यमिक तहमा क्रमशः प्रथम, द्धितीय तथा तृतीय भएका निबन्धहरु
निबन्ध ः मानव बेचबिखन
सुदिपा अर्याल
कक्षा ९
मानव बेचबिखन भनेको कुनै उद्देश्यले मानिसलाई किन्ने वा बेच्ने काम हो । मानव बेचबिखन एउटा जघन्य अपराध हो । मानव बेचबिखन खासगरी अविकसित र अल्पविकसित देशमा हुने गर्दछ । मानव बेचबिखन खासगरी ठुलाठुला कारखानामा काम गराउनका लागि, अंग बेचबिखनको लागि, बेश्वावृत्तिको लागि, घरायसी दास बनाउनका लागि, सर्कसमा काम गराउनका लागि गरिने गरिन्छ । बेचबिखन हुनेमा महिला र बालबालिकाहरु बढी मात्रामा पर्दछन् ।
नेपालमा हरेक वर्ष मानव बेचबिखनका घटनाहरु सार्वजनिक हुने गरेपनि यो घटना अझै पनि कम हुन सकेको छैन । मानव बेचबिखनमा महिलाका साथै पुरुषहरु पनि बेचबिखनमा पर्ने गरेका छन् । धेरै पैसा कमाउने प्रलोभन देखाई पुरुषहरुलाई पनि बेचिने गरेको छ । खासगरी गरिब परिवारका मानिहरु यसप्रकारको चपेटामा परेका छन् । अझ नेपाल र भारतको खुल्ला सीमाना भएका कारण मानव बेचबिखन गर्ने दलालहरुलाई सीमापार लैजान सजिलो भएको छ । खासगरी महिलालाई झठो मायाजालमा फसाएर, नक्कली बिबाह गरेर दलालहरुले महिलालाई बेच्ने गर्दछन् । यसरी बेचिएका महिला तथा बालबालिकाको कथा दर्दनाक छ । बेचिएका मानिसहरु केही गरी आफ्नो गाउँमा फर्कदा उनीहरुले हेँला सहनु परेको छ । समाजमा पुनर्मिलन गराइएको छैन ।
आज हामी एक्काइसौं शताब्दिमा छौं । नेपालमा एक सय वर्ष भन्दा पहिले नै दास प्रथा उन्मुलन भएको हो । तर पुरानो दासप्रथालाई आधुनिक तरिकाबाट मानबबेचबिखनका रुपमा फोरी उतार्न थालिएको छ । यो भन्दा कलञ्कको कुरा अरु के हुन सक्छ र ? मानिस भएर मानिसलाई नै पशुसरह बेच्नु भनेको हाम्रो समाजको लागि एउटा अभिषाप नै हो ।
नेपालमा सयौं मानवबेचबिखनका घटना सार्वजिनक नभएको पनि होइन । अपराधिले कारवाही पनि पाएका छन् र पिडित पक्षले इन्साफ नपाएका पनि हैनन् । तर यति हुँदा पनि मानव बेचबिखन कम हुन सकेको छैन ।
नेपालमा शिक्षाको कमी, अर्थिक बिपन्नता, रोजगारीको कमी, कमजोर कानुनी व्यवस्था, गरिबी, खुल्ला सीमाना जस्ता कुराका कारण मानव बेचबिखन अति नै बढेको पाइन्छ । मानवबेचबिखनमा खासगरी बिकट ठाउँका मानिसहरु पर्ने गर्दछन् किनकी त्याहाँका मानिसहरु गरिबीको रेखामुनी रहेका हुन्छन् । त्यहाँका मानिसहरुमा चेतनाको कमी छ ।
मानबबेचबिखन रोक्न स्थानीय निकायहरुको पनि ठूलो भूमिका रहेको हुन्छ । सर्बप्रथम परिवारका मानिसहरु अगाडी बढेर मानव बेचबिखन विरुद्ध अभियान सुरु गर्नुपर्छ । मानव बेचबिखन रोक्न देशको कानुन बलियो बनाउनु पर्छ । मानिसलाई शिक्षित बनाउनु पर्छ, खासगरी महिलालाई सचेत गराउनु पर्छ । कहीँकतै मानव बेचबिखन हुन लागेको सूचना दिने व्यक्तिलाई उचित सम्मानको व्यवस्था गर्नुपर्छ ।
बेचबिखनमा परेका मानिसहरुलाई समाजमा पुनर्मिलन गराई उनीहरुलाई सहयोग गर्ने गर्नुपर्छ । उनीहरु मानसिक तथा शारीरिक रुपमा रोगी हुन सक्ने भएकोले आवश्यक परे उनीहरुलाई स्वास्थ्य संस्थामा लगि उपचार गर्नुपर्छ । उनीहरुको चोटमा नुन छर्कने काम नगरी मलम लगाउने व्यवहार गर्नुपर्छ । मानव बेचबिखनबाट बच्नका लागि विद्यालयमा विद्यार्थीहरुलाई यस सम्बन्धी उचित शिक्षा दिनुपर्छ । यसरी सबै मिलेर एकजुट भइ काम गरे मात्र बेचबिखन रोकिन सक्छ र बेचबिखनमा परेका मानिसलाई समाजमा पुनर्मिलन गराउन सकिन्छ ।
समाप्त
निबन्ध ः मानव बेचबिखन
सीतामाया तामाञ
कक्षाः १०
कुनै पनि व्यक्तिलाई ललाई फकाइ गरी, धम्क्याई, आफ्नो हैकममा ल्याउने वा यौन शोषण एवं अन्य प्रयोजनका लागि फन्दामा पारी एक ठाउँबाट अर्को ठाउँमा लैजाने प्रक्रिया बेचबिखन हो । नेपालको सन्दर्भमा यस्ता मानव बेचबिखनका क्रियाकलापलाई एक कुसंस्कारको रुपमा लिइएको छ । मानव बेचबिखन विभिन्न उद्देश्यले गरेको हामीले पाउन सक्छौ । बेचबिखनमा महिला बालबालिका एवं सशक्त युवायुवती समेत पर्ने गरेको पाइन्छ । बेचबखिनको कारणले गर्दा हजारौं युवायुवतीहरु बाध्यताले यौनजन्य क्रियाकलापमा संलग्न हुनु परेको छ । बेचबिखन विभिन्न कारणबाट हुने गर्दछ । कुनै अशिक्षाको कारणले हुने गर्दछ भने कुनै शिक्षित भए पनि बेरोजगारीका कारण रोजगारीको सिलसिलामा बेचबिखनमा पर्ने गरेको विभिन्न सञ्चार माध्यमबाट थाहा हुने गरेको छ ।
वास्तवमा भन्नुपर्दा बेचबिखन मानिस पैसाको लागि भएको पाउन सक्छौं । मानव बेचबिखन क्रियाकलाप वेश्यावृत्ति, घरायसी कामदार, होटलमा काम लगाउने, देवीदेवतालाई चढाउन, पाहुनालाई सत्कार गर्न मानव अञ्ग व्यापार गर्न, भिख माग्ने जस्ता उहेश्यका लागि गर्ने गर्दछन् । यस्ता क्रियाकलाप सामाजिक अपराध हो । नेपालको सन्दर्भमा दैनिक हजारौं युवायुवती विदेसिने गर्छन् । तर ति मध्ये कयौं मानिसहरु यस्तै क्रियाकलापमा संलग्न भइ बाध्यतावश विभिन्न नकारात्मक क्रियाकलापमा संलग्न भइरहेको खबर हामी पाउन सक्छौं । बेचबिखन गरिबी, बेरोजगारी र अशिक्षाको कारणले हुने गर्दछ ।
मावबेचबिखनलाई पहिला पहिला महिला बेचबिखनले बुझिन्थ्यो । यसको कारण बेचिनेमा महिलाहरु नै पर्दथे । पछिल्लो समय मानव बेचबिखनको शैली र उद्देश्य फरक भएको छ । त्यसैले महिला मात्र नभइ मानव बेचबिखनको विषय बनेको हो । कतिपय बेचबिखनका घटनाहरु हाम्रो सामाजिक मूल्य मान्यताले पनि बढाइरहेको छ । देखासिकीको कारणले पनि यो व्यापक बन्दै गएको छ । गरिब परिवारका आमाबाबुले अरुको छोराछोरीले कमाएर ल्याएको देखेर आफेना छोराछोरी पनि विदेश पठाउन चाहने, सामान्य चिन्जान र विश्वासका आधारमा म्यानपावर मार्फत पठाउने गर्दछन् । विदेशबाट फर्कदा उसले भोग्नुपरेका समस्या, उसले ल्याएको विभिन्न घातक रोगबाट पिडित भएको देखेपछि मात्र परिवार र आफन्त पछुताउनु परेको अवस्था हाम्रो वर्तमान समाजको यथार्थ घटना प्रसस्तै रहेका छन् ।
कतिपय बेचबिखनका घटनाहरु उनीहरुका आफन्तबाटै हुने गर्छन् । मानव बेचबिखनबाट वेश्यावृत्ति कार्यमा संलग्न हुने हुँदा यौन प्रसारित रोगहरु एच आइ भी एडस लगायतबाट जीवनभर पिडित हुनु परेको समेत पाइन्छ । यस्ता मानिसको संख्या नेपाली समाजमा प्रसस्तै रहेको पाउन सकिन्छ ।
मानव बेचबिखन नेपाली समाजको कुसंस्कारको रुपमा रहेको छ । मानब बेचबखिन आफ्नै देशभित्र र अन्य देशहरुमा विभिन्न उद्देश्यले हुने गर्दछ । यस्ता बेचबिखनमा परेर हजारौं युवायुवतीले आत्म हत्या गरेको खबर सुनिन्छन् । मानव बेचबिखनबाट हजारौं मानिसहरु पिडित छन् । यस्ता पिडित मानिसहरुलाई सरकारी र गैरसरकारी तवरबाट उद्धारको साथै उनीहरुको पछिको जीवन सुधार्न भिभिन्न सीपमूलक शिक्षा तथा तालिमको व्यवस्था गर्नुपर्दछ ।
मानव बेचबिखनबाट बच्नलाई विभिन्न सतर्कता अपनाउनु पर्छ । मानव बेचबिखन गर्न दलालहरु गाउँका सोझा, अशिक्षित र बेरोजगार महिला तथा बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाई बेचबिखनमा फस्न सक्छन् । तसर्थ यस्तो अवस्थामा विशेषगरी अशिक्षित, बेरोजगार यूवायुवतीहरुले विशेष सतर्कता अपनाउन जरुरी छ । यसका लागि जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । व्यक्ति स्वयं सचेत हुन आवश्यक छ । अपरिचित व्यक्तिहरुसँग तत्कालै विश्वास गरिहाल्नु हुँदैन । मानब बेचबिखन सम्बन्धी छलफल विद्यालय, समुदाय स्तरमा चलाउनु पर्छ । मूलतः बेचबिखन हुन नदिनका लागि रोजगारीका अवसरहरु सिर्जना गर्नु जरुरी छ ।
यसरी मानव बेचबिखनबाट मानव अधिकारको हनन भएको कुरा हामीमा प्रष्ट छ । मानवले पाउनुपर्ने आधारभुत एवं अतिरिक्त आवश्यकतालाई ध्यानमा राखी मानव अधिकारको सुनिश्चितता गर्न बेचबिखन रोकथाम गराउनु हरेकको कर्तव्य हो । आफ्नो हक अधिकार खोज्दै मानव बेचबिखन जस्ता सामाजिक अपराधको विरुद्ध लाग्ने र अपराधीलाई कडा कानुनी दण्ड सजायँको व्यवस्था गर्नु सम्पूर्ण सरकारी निकाय, सचेत व्यक्ति तथा संघसंस्थाहरुको दायित्व हो ।
अन्त्यमा, बेचबिखनबाट मानव अधिकारको हनन हुनछ भन्ने कुरा हामी सबै सचेत नागरिकलाई थाहा भएकै कुरा हो । तर पनि बेचबिखनको समस्या कम हुन सकेको छैन । यस्तो अवस्थामा व्यक्ति स्वयं सचेत हुनु आवश्यक छ । सरकारी निकायबाट पनि मानब अधिकारको रक्षाका लागि विशेष पहल गर्नुपर्छ । यसका साथै विशेषगरी गमीण क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ । रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरुले पनि सन्देशमूलक सामग्रीहरु प्रशारण र प्रकाशन गर्नु पर्दछ ।
समाप्त

निबन्ध ः मानव बेचबिखन
नविना थापा
कक्षा १०
साधारणतया मानव बेचबिखन भनेको मानवले मानवलाई गरिने बेचबिखन हो । यो एउटा मानवको अधिकार बिरुद्ध हुने एक प्रकारको हिंसा हो । यो समस्या हाम्रो जस्तो विकासोन्मुख राष्ट्रहरुमा बढी हुने गरेको पाइन्छ । मानव बेचबिखनले हाम्रो जस्तो देशको विकासमा निकै बाधा पुर्याएको हुन्छ । मानव बेचबिखनले आफ्नो राष्ट्रको प्रतिष्ठा घटाउने गर्दछ । जुन हामी सबैको लागि सरोकारको विषय हो । मानव बेचबिखनको एउटा पक्ष चेलिबेटी बेचबिखन हो । कुनै पनि नारीलाई पैसाको लागि किनबेच गरिन्छ, भने त्यो चेलिबेटी बेचबिखन हो । चेलिबेटीहरु प्रायःजसो काम पाइन्छ भन्ने आशा लिएर आफूले सोच्दै नसोचेको काम गर्न पुग्छन् र चेलीहरु नेपाल फर्कदा एड्स जस्तो घातक रोग लिएर आइपुग्छन् । जसले गर्दा दम्पति तथा बालबालिकाको मृत्युपनि हुन सक्छ । समाजमा अपहेलित भएर बाँच्नुपर्ने अवस्था सिर्जना हुन पुग्छ ।
मानवबेचबिखनको समस्या विकसित देशमा भन्दा पनि हाम्रो जस्तो विकासोन्मुख तथा अविकसित राष्टमा बढी हुने गरेको पाइन्छ । विभिन्न किसिमका कुप्रथाहरु कायम हुनु, शिक्षा र चेतनाको कमी, स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुनु, अधिकांश मानिसहरुको जीवनस्तर न्यून हुनु जस्ता कारणहरुले नेपाली महिलाहरु दलालहरुको भ्रममा परेर विदेसिन पुगी बेचिन बाध्य भएका हुन्छन् । मानव बेचबिखनले मानिसलाई विकासमा अग्रसर गराउन सक्दैन । हाम्रो नेपाली समाजका धेरुे मानिसहरु पुरातनवादी सोच र छोरीलाई शिक्षा दिए बिग्रन्छन् भन्ने गलत धारणाले किशोरीहरु यूवा अवस्थामा कुनै रोजगारी पाउँदैनन् । यसको कारण उनीहरुसँग पर्याप्त शिक्षा, अनुभव, क्षमता, जस्ता आधारभुत कुराहरुको कमी हुनु हो । यसले गर्दा किशोरीहरु नचाहेर पनि बेचिने र गलत काम गर्न पुग्छन् ।
मानव बेचबिखनले एउटा घर बिग्रन्छ, घरपछि समाज र समाज पछि राष्ट्र नै बिग्रिएर विकासमा पछाडी पर्न पुग्छ । यदि नेपालमा यस्ता समस्याहरु क्रमशः कम गर्दै जाने हो भने अरु विकसित राष्टहरु सरह आर्थिक तथा सामाजिक उन्नती गर्न सक्थ्यो होला । यस्ता समस्याले विकासको गतिमा तिब्रता आउन सकेको छैन । यो हाम्रा लागि निकै दुःखको कुरा हो । विदेशका कतिपय ठाउँहरुमा युवायुवतीहरु अलपत्र पर्ने गरेका छन् । यूवा अवस्थामा आफ्नो देशमा श्रम खन्याउनु पर्ने अवस्थामा विदेशमा नै आफ्नो पसिना बगाइरहेका छन् । जसले आफ्नो देशको विकासमा बाधार पगिरहेको छ ।
पहिलेको तुलनामा अहिले मानव बेचबिखन कम हुँदै गएको छ । यसका विरुद्ध विभिन्न नीति तथा कानुन बनेकाले केही मात्रामा कम भएको हो । विशेषगरी नारीलाई स्वदेश तथा विदेशमा काम मिलाइदिने अनेक आश्वासन दिएर त्यसकै भर पर्दा बेचबिखनमा पर्न सक्छन् । यसरी प्रलोभनमा परेर बेचिन पुगेर विभिन्न किसिमका यौन रोगहरु लिएर फर्केर आउनेको संख्या पनि निकै छ । नारीहरुलाई आफ्नै श्रीमान्ले समेत विदेशमा पुर्याएर बेचेका घटनाहरु पनि प्रसस्तै सुनिन्छन् । यो एक मानव अधिकार विरुद्धको क्रियकलाप हो भन्ने कुरा धेरैलाई थाहा छ । तर नेपालका ग्रामीण भेगका व्यक्ति लाई यसको बारेमा केही जनाकारी हुँदैन र रोजगारीको आशामा उनीहरु बेचिन पुग्छन् ।
बालबालिकाहरुपनि बेचबिखनको शिकार बन्न पुग्छन् । यस्तो अवस्थामा बालबालिकाहरु समेत यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारिएका हुन्छन् ।
हामीले यस्तो समस्या कम गर्दै हटाउन सरकारले निर्माण गरेका नियमकानुनलाई प्रभावकारी पालना गर्नुपर्दछ । ग्रामीण क्षेत्रमा पनि शिक्षाको लहर फैलाई विशेषतः यस्ता यस्ता मानव बिरुद्ध हुने शिँसाको बारेमा विशेषतः जानकारी दिनुपर्दछ । जसले ग्रामीण क्षेत्रका यूवायुवतीहर र बालबालिकाहरुलाई लक्षित रोजगारीको व्यवस्था हुनु पर्दछ । सबै बालबालिकाहरुलाई विद्यालय जाने वातावरण मिलाउनु पर्छ । जसले भविष्यमा दक्ष जनशक्ति उत्पादन गरी यस्ता समस्याहरु सजिलै हट्न सक्छ । जो असहाय छ र पढ्ने इच्चा छ, उसलाई विशेष सहयोग उपलब्ध गराई पढ्नमा निरन्तरता दिनु पर्दछ । यस्ता समस्याबाट पिडित व्यक्तिलाई पुनस्र्थापनाको उपयुक्त वातावरण तयार गर्नुपर्दछ । बेचबिखनमा संलग्नलाई कडा दण्ड सजायँ गर्ने र पिडितलाई सरकारको उचित सहयोगको व्यवस्था गर्नुपर्छ ।
बेचबिखनको समस्याको परिणामलाई भोगेर भन्दा पनि पहिले नै सचेत भएर बुझ्नुपर्दछ । यस्ता समस्या हटाउन आफु सचेत हुनुका साथै अरुलाई पनि सचेत गराउनु पर्दछ । हामी मनैदेखि यस्तो समस्या हटाउन लागिपर्यौं भने पक्कै सफल भइ समस्याको जरैदेखि उन्मुलन गर्न सकिन्छ । त्यसमा व्यक्ति, समाज र राष्ट्र सबै अग्रसर हुनुपर्छ । यसप्रकारको एउटा समस्या समाधान हुँदै गएपनि अरु सामाजिक समस्याहरु पनि बिस्तारै कम हुँदै जान थाल्छन् । जसले एउटा समृद्ध मुलुक बन्न सहयोग पुर्याउँछ । हामीले एउटा सानो पाइला चाल्यौं भने पनि त्यो पाइलाले अरुलाई प्रभाव पार्छ र सबै आ आफुले गर्न सक्ने काम गर्न पुग्छन् ।
समाप्त

Leave us a Comment