मैले भोगेको तेर्से

IMG_2744

अनिलकुमार श्रेष्ठ
भू.पू. शिक्षक

जीवन सायद अरुले भनेजस्तै सोचेको भन्दा नसोचेका कुराहरुको सिलसिला हो । विना कुनै योजना, विना कुनै साेंच म राम सरसँग चुपचाप आएँ तेर्सेमा । साँच्चै नै म खाली थिएँ । पछि बिस्तारै सपनाका रेखाहरु कोरिन थाले । मभन्दा अग्रज, अनुभवीहरुबाट पाएको साथले एउटा आँटजस्तो, साहसजस्तो केही हुर्कन थाल्यो ममा । म आफैंलाई मेरो तेर्से भन्ने भावनाले छोप्न थाल्यो । समयक्रममा मेरो एउटा सपना बन्योः तेर्र्से मा.वि. । हामीभित्रको जोश, उत्साह र साहसले कति चाँडो गोरेटो खन्न थाल्यो । हामीभित्रको एकता आफैं पनि सम्झिएर म गर्व गर्न सक्छु । प्रत्येकको अस्तित्वलाई स्वीकार्दै सबैलाई सँगसँगै लिएर जाने हाम्रा प्रधानाध्यापकको सोंचमा पनि मलाई गर्व लाग्छ । एक जो हो, त्यही नै अर्को होइन । निजीपन आफ्नो चिनारी हो । अस्तित्व आफ्नो परिचय हो । एक जस्तो छ, त्यस्तै नै अर्को बन्न सक्दैन । मानिसको व्यक्तित्व आफ्नो अभिव्यक्ति हो, अस्मिता आफ्नो महिमा हो । हामीसँग प्रत्येकको अस्तित्वलाई स्वीकार्दै, कमजोरीहरुलाई सुधार्दै अघि बढ्ने सङ्कल्प थियो र छ पनि । कुनै एक व्यक्तिको तुलना अर्को व्यक्तिसँग हुन सक्दैन । ऊ जे हो, त्यही हो । ऊ अर्को होइन । न त कोही अर्को बन्छु भन्दैमा त्यत्तिकै बन्न सक्छ । कर्म नै व्यक्तिको अस्तित्वको आधार हो । मैले सँगै रहँदा अनुभव गरेँ, हामी सबै फरक छौँ तर एक अर्कामा विश्वास गर्छौँ† अरुलाई र आफैंलाई बुझ्छौँ । होलान्, कुनै सोंचहरु पूरा हुन पाएनन्, कति सँगै सोचेका सपनाहरु बिथोलिए पनि तर आज पनि उस्तै छौँ हामी । कहिलेकाहीँ त म सोच्छु आफैंलाई, किन सोंचेको पुग्दैन ? जवाफ सम्भवतः एउटै इनपुट पुगेन या त हामी बढी महŒवाकाङ्क्षी भयौँ । मैले सिकेँ, देख्नु भनेको प्रकाश देख्नु हो । दृष्टि भनेको ज्ञान मात्र हो । रंग बुझ्ने प्रयास गर्नुपर्छ किनकि रंगले भाव जनाउँछ अनि सोंचले मान्छे । मानिस आफ्नो कर्मको छनोटमा पूर्णतः स्वतन्त्र छ र त्यहीँ स्वतन्त्रताको वरणबाट नै हरेकले आफ्नो ‘आफू’ लाई विकसित गर्न सक्छ । स्वयंप्रतिको उत्तरदायित्व बोधले नै व्यक्तिलाई सक्षम बनाउँछ । कुरा गरेर काम गर्दागर्दै छाड्ने हाम्रो बानी र सायद हामी बढी मख्ख पनि पर्न थालेका थियौँ । तेर्सेमा रहँदा ती क्षणहरु जहाँ निर्णय गर्नु पर्ने अवस्थामा हामी एक अर्काको मुख ताकेर बस्नु पर्ने हुन्थ्यो । व्यक्तिले वा संस्थाले कुनै निर्णय गर्नु भनेको फड्को मार्नु पनि हो । आफ्नो अस्तित्व रक्षा गर्नका लागि वा प्राप्त गर्नका लागि सङ्कल्प शक्ति आवश्यक हुनु पर्दछ । निर्णय गर्नु शक्तिका साथै सीमा पनि हो । निर्णयले विपत् र वेदनाको सम्मुख पु¥याउँछ तर भय र सन्त्रासको स्थितिबाट नै आँट र शक्ति उत्पन्न हुन्छ । त्यो निर्णय गर्ने आँट, त्यसलाई पूरा गर्ने सङ्कल्प र कार्य आगामी दिनमा अझै बलियो हुने विश्वास मलाई छ ।

लामो समयावधिमा राखेर तुलना गर्दा तेर्सेका लागि मेरा दुई वर्ष केही नहोला तर मेरा लागि यो दुई वर्षले धेरै अर्थ राख्नेछ । हामी सबैले सँगै बिताएका ती क्षणहरु साँच्चिकै अर्थपूर्ण हुनेछन् । तेर्से दीपावलीको सुनौलो क्षणमा छ किनकि शिक्षकका भावनाका थुङ्गाहरु विद्यालयको सौन्दर्यका लागि हरपल चिन्तनशील छन् । यी मनहरुको विछोडको पीडा तेर्से मा.वि. ले जुनसुकै बेला भोग्नु पर्ने हुन सक्छ । विद्यालयले यी पूmलहरुलाई संरक्षण गर्ने वातावरण तयार गरी यसबाट अधिकतम् लाभ लिन सक्नुपर्छ । आ–आफ्नो विषयलाई विशेषज्ञताका साथ हाँक्न सक्ने शिक्षकहरुको त्यो समूह दुर्लभ छ ।

Related Blogs

Leave us a Comment